काठमाडौं, जेठ २७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले वातावरण संरक्षणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा वातावरण दिवसको अवसर पारेर आयोजित विशेष स्वच्छता कार्यक्रममा बोल्दै मन्त्री आचार्यले वातावरण दिवस नारामा मात्र सीमित नभई व्यवहारमा पनि उर्तान आवश्यक भएको बताए ।
उनले भने ‘ वातावरण संरक्षण सबैको सरोकारको विषय हो । निजी क्षेत्र गैर सरकारी संघ संस्था नागरिक समाज आम नागरिक सबैको सहकार्य र सम्वन्वयनबाट नै सफा शुद्ध हरित चरण निर्माण सम्भव छ । त्यसैले सबै आफुले सिकेका कुराहरु घर समाज र समुदायलाई सिकाउने आफुले व्यवहारमा उर्तान अनुरोध गर्छु । प्लाष्टिकजन्य पदार्थहरु उपयोगमा नियन्त्रण गर्ने,व्यवस्थित शहरीकरण गर्ने,ढल निकासलाई व्यवस्थित गर्ने भएकोले सबै सम्बन्धित निकायलाई यस तर्फ लाग्न अनुरोध गर्दछु । वातावरण दिवस नारामा मात्र सीमित नहोस कार्यन्वयन पनि होस । यसको लागि सरकार तत्पर छ ।’
कार्यक्रममा नेपाली काँग्रेसकी सांसद आरजु राणाले वातावरणप्रति चेतना बढ्नु सकारात्मक पक्ष भएको बताउँदै काठमाडौंप्रति माया गर्नेहरु बढ्नु खुसीको कुरा भएको उल्लेख गरिन् ।
उनले भनिन ‘ शहर सफा राख्नु पर्छ भन्ने चेत बढ्नु खुसीको कुरा हो, अझ पछिल्लो पुस्तामा देखिएको यो सकारात्मक पक्षले वातावरण संरक्षणमा बल पुर्याउछ, काठमाडौंमा जन्मिएकाहरु मात्र नभइ अहिले काठमाडौंलाई माया गर्नेहरुको संख्या बढ्नु काठमाडौंका लागि अर्को सुखद पक्ष भएको छ । ’
म बदलिन्छु अनि देश बदलिन्छ भन्ने नाराका साथ मैनादेवी फाउण्डेशनले सुन्दर, स्वच्छ र हरियाली राष्ट्रको परिकल्पना गर्दै बिभिन्न कार्यक्रम गर्दै आएको छ । यही क्रममा शनिबार काठमाडौंमा आयोजना गरेको नेपाल टेलिकम क्लिन अप प्रिमियर लिग –सीपीएल कार्यक्रममा काठमाडौं उपत्यकाको वातावरणमाथि बहस गरिएको थियो ।


















