नयाँ दलहरुले पुराना जति नराम्रो भन्ने नचाँहिदो भ्रम सृजना गरे : महासचिव पोखरेल

काठमाडौं, जेठ २९ । नेकपा एमाले महासचिव शंकर पोखरेलले नयाँ र पुराना दलको बीचमा नयाँ राजनीतिक दलले स्थापित हुन आफूहरु योग्य र राम्रो तथा पुराना जति नराम्रो भन्ने नचाँहिदो भ्रम सृजना गरि भाष्य बनाउन लागेको आरोप लगाएका छन् ।

सोमवार पार्टी कार्यालयमा आयोजित ‘मूलुकको वर्तमान राष्ट्रिय राजनीति ः अबको बाटो’ विषयक अन्तक्रिया कार्यक्रममा उनले नयाँ आएका राजनरीतिक दलले आफू स्थापित हुनलाई पुराना राजनीतिक दल नराम्रा हुन भन्ने भाष्य सृजना गर्न खोजेको आरोप लगाउँदै नयाँलाई नीति,उद्देश्य र कार्यक्रममा बहस गर्न आग्रह गरे ।

उनले एमाले जीवन्ततामा विश्वास गर्ने राजनीतिक दल रहेको भन्दै भने,‘हामी नीति,उद्देश्य,कार्यक्रम र राष्ट्रिय चुनौती र समस्याको सम्बोधन एवं समाधानको प्रश्नमा छलफल र बहस गर्नका लागि नयाँ राजनीतिक दललाई आह्वान गछौं । नयाँ र पुरानोको भाष्यको आधारमा राष्ट्रका समस्याहरु समाधान हुन सक्दैनन् भन्ने कुराको सच्चाइलाई बुझ्न जरुरी छ ।’

त्यस्तै उनले नेपालमा राजनीतिक अस्थिरता सृजना गर्न साँस्कृतिक अतिवादलाई प्रवद्र्धन गर्ने तथा लोकप्रियताको नाममा नेपालमा बलियो राजनीतिक शक्ति निर्माणमा अवरोध गर्ने जस्ता बाह्य अवरोध सृजना भइरहेको भन्दै नेपालमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता परेको र त्यसमा आफ्नो पार्टी नेतृत्व गर्ने तहदेखि नै सक्षम रहेको जिकिर गरे ।

उनले नेकपा एमाले संविधान कार्यान्वनको सफल कार्यान्वयन गर्ने पार्टी नीति लिएर अगाडि बढेको भन्दै संघीयताको खारेजी भन्दा संविधानको सफल कार्यान्वयन गर्ने पक्षमा रहेको स्पस्ट पारे ।