काठमाडौं, ३० । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभाको आकस्मिक बैठक बोलाएका छन् ।
मुख्यमन्त्री यादवले आकस्मिक रूपमा आजै विश्वासको मत पनि लिने तयारी गरेका छन् । मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी जेठ ३२ गते बस्ने भनिएकोमा आज आकस्मिक रूपमा बैठक डाकेर मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको नेपाली काँंग्रेसका प्रदेश सांसद कुमार कान्त झाले पुष्टि गरे ।
उनले भने,मुख्य मन्त्रीको कार्यालयबाट प्रदेशसभाको आकस्मिक बैठकका लागि बेलुका ५ बजे आउनुहोस् भनेर सन्देश आएको छ । सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ ।
एमालेसहितका दलको समर्थनमा गत पुष २७ गते यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो भने जेठ १ गते समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आज ३० औं दिनको दिन आकस्मिक बैठक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।


















