काठमाडौं, जेठ ३० । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव मिलन थापाले सुनको जलहरीमा आफुले घोटाला गरेको भए मृत्युदण्डको सजाय भोग्न तयार भएको बताएका छन् । उनले आफुलाई समाजमा सुन चोर भनेर चिनाइएको गुनासो गर्दै पशुपतिनाथमा आएर धर्म हुनुपर्ने ठाउँमा आफुले पाप भोगिरहेको जिकिर गरे ।
मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथमा चढाइएको जलहरीको विषयमा उठेको प्रश्नमा प्रष्टीकरण दिन पुगेका सदस्य सचिव थापा बारम्बार रोएका थिए । गला अवरुद्ध पार्दै उनले हरेक प्रश्न र आंशकामा जवाफ दिने प्रयास गरेका थिए । उनले जलहरीमा एकरति पनि भ्रष्टाचार नभएको दावी गर्दै दोषी पाइए मृत्युदण्डको सजाय दिएपनि भोग्न तयार रहेको बताए ।
उनले भने ‘ सुनको जलहरीको न्याय माग्न के मैले पनि आत्महत्या गर्नुपर्ने हो ? म यो सुनको जलहरीको समितिको संयोजक हो, यसमा नेपाल राष्ट्र बैंकले गरेको सम्झौता अनुसार हामीले सुन ल्याएका छौ । १०३ केजी सुन आएको छ । हामी राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो, राज्यले जे निर्देशन दिन्छ, त्यही गर्नु हामीले गल्ती गरेका हौं र ? ’
सदस्य सचिव थापाले सञ्चार माध्यमले आफुलाई सुन चोर भनेर लेख्ने गरेको गुनासो गर्दै आफु अहिले बेइज्जतीको भारी बोकेर बाँचिरहेको बताए ।
उनले भने ‘ १० केजी सुन पुगेन भने म मृत्युदण्ड लिन पनि तयार छु, आज मेरो गाँउभरि बेईज्जत भयो मेरो दुई जना सन्तान छन् । अब मैले सुन चोरको रुपमा नाम पाएको छु । म कमजोर होईन् तर राज्यले मलाई कमजोर बनाएको छ । आयोगले छानबिन गर्न नसक्ने, पटक पटक मुद्दा चलाउने भनिएको छ । मुद्दा चलाउ पुगेन भने फाँसी दिए पनि हुन्छ तर हाम्रो पत्रकार साथीहरुले सत्य नबोलिकन सुन चोर भनेर समाचार निकाल्नु हुन्छ । मरो बच्चाहरुको भविष्य अन्धकार बनाउने, राज्यको यहि नीति हो ? त्यसो भए त कुनै पनि राजनीतिक दलले नियुक्ति गर्नु भएन पशुपति विकास कोष नै राख्नु भएन । ’
प्रष्टीकरण दिंदा धेरै पटक रोएका थापाले नेपाली सेनाको निगरानीमा जलहरी निर्माण गरिएकोले सुन कम भए सेनाले पनि दोष भोग्नु पर्ने बताए । उनले भने ‘ अर्को कुरा नेपाली सेनाको विश्वास गर्ने कि नगर्ने, सुनको जलहरीमा नेपाली सेनाको २४ घन्टा निगरानी थियो, सेनालाई विश्वास गर्ने कि नगर्ने, यो सुन हराएकोमा सेनाले जिम्मेवारी लिने कि नलिने भनेर प्रधानसेनापतिसँग पनि कुरा गरेको छु । ’
सदस्य सचिव थापाले राज्यले सुन्ने मात्र होइन हेर्ने पनि गर्नुपर्छ भन्दै कान र आँखा दुबै प्रयोग गर्न आग्रह गरे । उनले धनी र गरीब दुबैले मरेर एउटै कात्रो ओढेर जाने पशुपतिनाथ नै हो भन्दै त्यस्को नाममा कहिले पनि भ्रष्टाचार नगर्ने र नगरेको दावी गरे ।


















