काठमाडौं, असार ३० । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको राष्ट्रिय गान निर्माण गर्दा मुलुकको सम्पूर्ण पक्षलाई केन्द्र राख्न ठूलो बहस भएको बताएका छन् ।
१९५ देशका राष्ट्रिय गानहरुको नेपाली अनुवादमा आधारित ‘विश्वका राष्ट्रिय गान’ पुस्तकको लोकार्पण कार्यक्रममा परराष्ट्र मन्त्री साउदले राष्ट्र गानले हतिहासको अभिव्यक्त गर्ने बताए ।
उनले भने ‘ हाम्रो राष्ट्रिय गान बनाउँदा आत्मबल र राष्ट्रियता प्रवद्र्धन गर्ने किसिमले के के कुरा लेख्ने, हाम्रो सीमाका बारेमा, आत्मगौरवकोबारेमा ठूलो प्रतिष्पर्धा गरेर हाम्रो राष्ट्रिय गान टुङ्गाएका छौ ।
त्यसकारण हाम्रो राष्ट्रिय गान गाउँदा सबैजना उभिएर बढो आत्मसम्मानका साथ राष्ट्रिय गान गाउँदा गौरव महशुस गर्छौ । त्यो गौरव जुन हामी महशुस गर्छौ, त्यो सबै ठाँउमा महशुस गर्छन् । ’
राष्ट्रिय गान हरेक राष्ट्रको विम्ब जस्तै भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री साउदले राष्ट्र गान हरकोहीका लागि प्यारो हुने बताए ।
उनले भने ‘ राष्ट्रिय गान भनेको राष्ट्रको विम्व जस्तै हो, राष्ट्रको विम्व भनेको इतिहासलाई पनि अभिव्यक्त गर्छ । राष्ट्रको भावि पद यात्रा के हो भन्ने कुरालाई पनि सीमित शब्दमा त्यसले अभिव्यक्त गर्छ । राष्ट्रिय गानको यो संग्रहले दुनियाँका सबै देशहरुलाई एउटा किताबको रुपमा एक ठाँउमा ल्याउँदा सबै राष्ट्रियताहरु संसार कै रुपमा, विश्वको रुपमा एकाकार हुने ठाँउ छ । त्यसको लागि प्रभावशाली संस्थाका रुपमा संयुक्त राष्ट्र संघले काम गर्नुपर्छ भन्ने कुरामा कुनै विवाद हुन सक्दैन् । यो किताब त्यसअर्थमा पनि महत्वपूर्ण छ । ’
परराष्ट्रमन्त्री साउदले नेपालको राष्ट्रिय गान पनि रहेक नेपालीका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई सबै नेपालीले आत्मसाथ गरेर अगाडि बढ्नु पर्ने बताए ।


















