प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कँदै

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न पश्चात शुक्रबार स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भएर प्रधानमन्त्री आज शुक्रबार विहान स्वदेश फर्किन लागेका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गरेका थिए ।

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिना, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी)का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गरेका थिए ।

रोममा रहँदा गैरआवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनकी स्वकीयसचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी छन् ।