भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ युट्युब च्यानललाई कारबाही गर्न प्रहरीलाई पत्राचार

काठमाडौं, असोज २२। प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गरेको भन्दै ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको छ ।

एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती युट्युब च्यानललाई कानुनी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको हो।

काउन्सिलले सञ्चारमाध्यमका रूपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारबाहीका लागि प्रहरीमा पठाउँदै आएको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय भएको हो ।

काउन्सिलले ३ वटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरेको छ । ती माध्यममा सम्प्रेषण भएका समाचार पत्रकार आचारसंहिताविपरीत भएको भनी कारबाहीको सिफारिस गरेको हो ।

आचारसंहिता प्रतिकूल उल्लिखित किसिमका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन सञ्चारमाध्यमलाई त्यस्ता सामग्री हटाउन निर्देशन दिई सचेत गराइएको, ५ वटा सामाजिक सञ्जाललाई आचारसंहिताप्रतिकूल देखिएका सामग्रीका विवादित अंश हटाई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ ।