सभापति लामिछानेको रिहाइको माग गर्दै रास्वपाले गर्‍यो थप आन्दोलनको घोषणा

काठमाडौं, कार्तिक ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको रिहाइको मागसहित थप आन्दोलनको घोषणा गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

सहकारी ठगी गरेको आरोपमा पूर्व गृहमन्त्री समेत रहेका रवि कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको भन्दै रास्वपाले तत्काल रिहाइको माग गरेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको छ । राजनीतिक प्रतिशोध त्यागी तत्काल उहाँको रिहाइ गर्न सरकारसँग माग गर्दछौं ।’

पार्टीले राजनीतिक प्रतिशोध, भ्रष्टाचार, र बेथितिविरुद्ध तथा सहकारीपीडितको ८८ अर्ब रकम फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । आन्दोलनलाई प्रभावकारी बनाउन पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गरिने रास्वपाले जनाएको छ ।

साथै, राजनीतिक संवादका लागि अर्का उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गरी सातै प्रदेशमा आन्दोलनका लागि प्रदेश समिति पनि गठन गरिनेछ । ‘न्यायका लागि हाम्रो अभियान कुनै हालतमा रोकिँदैन, हामी जनताको पक्षमा सधैँ खडा रहनेछौं,’ पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।