प्रधानमन्त्री ओलीद्वारा नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानी वातावरण बन्दै गएको र धेरै क्षेत्र अझै पनि पर्याप्त लगानी भइनसकेकाले लगानीका लागि आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा उनले भने , “नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका छन् । थप नीतिगत र व्यावहारिक सुधार गरी लगानी विस्तार र व्यापार सहजीकरणका लागि तयार छौँ ।”

द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहकार्यलाई सरकारले प्राथमिकता दिएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताए ।

चीन नेपालमा धेरै लगानी गर्ने मुलुकमध्ये एक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनले बताए ।