काठमाडौँबाट भद्रपुरतर्फ उडेको बुद्ध एयरको एउटा विमान शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएर बाहिर गएको छ। राति करिब ९:१० बजे अवतरण गर्ने क्रममा विमान रनवेभन्दा करिब २०० मिटर अगाडि चिप्लिएको बताइएको छ।
उक्त विमानमा ५१ जना यात्रु सवार थिए। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार घटनापछि कुनै आगलागी भएको छैन र सबै यात्रु तथा चालकदलका सदस्यहरू सुरक्षित रूपमा बाहिर निकालिएका छन्।
घटना लगत्तै सुरक्षाकर्मी र विमानस्थलका अधिकारीहरू घटनास्थलमा पुगेर आवश्यक उद्धार तथा सुरक्षा व्यवस्था मिलाएका थिए। प्रारम्भिक निरीक्षण सम्पन्न भइसकेको छ भने घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।


















