काठमाडौँ, १५ माघ । चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द शाह बालेन सुदूरपश्चिमको पहाडी जिल्ला पुगेका छन् । मंगलबार कैलाली र कञ्चनपुरमा चुनावी अभियान चलाएका बालेन बुधबार डडेल्धुरा पुगे । उनले डडेल्धुराको साहुखर्कस्थित ‘बाजेको खिर पसल’मा खिर खाए । त्यसपछि लगत्तै उनले भीमदत्त राजमार्गमा उभिएर सुदूरपश्चिमेली शैलीको स्टाटस लेखे ।
हिमपातले सेताम्मे सडकको बिचमा उभिएर सामाजिक सञ्जालमा ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तमलाई’ भन्दै लेखेको स्टाटस भाइरल बन्यो । सडकबाटै सुदूरपश्चिमप्रतिको आत्मीयता व्यक्त गर्न उनले त्यो पोस्ट गरेका थिए ।
बर्सात्सँगै परेको हिमपात र चिसो मौसमको सामना गर्दै बालेनले बिहान साढे ९ बजे डडेल्धुराको तुफानडाँडामा रहेको रास्वपाको पार्टी कार्यालयमा कार्यकर्ता र समर्थकसँग भेटघाट गरे । उनले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. तारा जोशीसँग कुराकानी गरे । जोशीले बालेनसँग स्थानीय तथा राष्ट्रियस्तरको विषयमा छलफल भएको बताए । ‘सुदूरपश्चिमको आर्थिक जीवनमा प्रभाव पार्ने योजनाबारे चासो राख्नुभएको थियो,’ उनले भने, ‘हामीले पश्चिम सेती, डडेल्धुरामा विमानस्थल, मेडिकल कलेजको स्तरोन्नतिलगायत विषयमा छलफल गर्यौँ ।’ बालेनले जोशीलाई चुनाव जितेर आउन शुभकामना दिँदै बाँकी जिम्मेवारी पार्टीले लिने बताए ।
त्यसपछि बालेनको टोली बैतडीतर्फ लाग्यो । घनघस्याको लेक काट्दै उनले बैतडीको खोड्पे बजारमा कार्यकर्तासँग भेटघाट गरे । दिउँसो साढे १२ बजे पाटन पुगेर बैतडीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिमोहन भण्डारी र जिल्लाको नेतृत्वसँग छलफल गरे । ‘बालेनसँग जिल्लाको भूगोल र चुनावी अवस्थाबारे छोटो छलफल भयो,’ रास्वपाका उम्मेदवार भण्डारीले भने, ‘जिल्लाको अवस्थाबारे विस्तृतमा बतायौँ ।’ समर्थकका लागि केही बोलिदिन अनुरोध गरे पनि बालेनले नबोल्ने बताएका थिए । त्यसपछि उनी दार्चुला हिँडे ।
चमेलिया नदी किनार, दार्चुलाको गोकुलेश्वरमा समर्थकको भिड लागेको थियो । उनको स्वागतमा स्थानीयले छलिया नाच्दै, दमाहा बजाउँदै र्याली आयोजना गरेका थिए । त्यहाँ बालेनले पार्टी सम्पर्क कार्यालयमा घन्टी बजाउँदै समर्थकलाई अभिवादन गरेका थिए । त्यहाँबाट फर्केर बालेनको समूह पुन: बैतडीको पाटन, खोड्पे हुँदै बझाङतर्फ लागेको थियो । उनी बुधबार राति बझाङ पुगेका छन् ।


















