जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ, १ फागुन : जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आज सार्वजनिक गरिएको घोषणापत्रमा सामाजिक न्याय, समावेशिता, समान अवसर र पारदर्शी शासनमार्फत लोककल्याणकारी राज्य निर्माण गर्ने मूल लक्ष्य प्रस्तुत गरिएको छ । घोषणापत्रमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वका रूपमा स्थापित गर्दै गुणस्तरीय र सर्वसुलभ उपचार सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ । शिशु कक्षादेखि उच्च तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने, शिक्षाको पूर्ण सार्वजनिककरण गर्दै स्कुल, कलेज र विश्वविद्यालयदेखि उच्च तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाइने पार्टीले जनाएको छ ।

यस्तै, कानुन र न्यायलाई पूर्ण रूपमा सार्वजनिक दायित्वका रूपमा स्थापित गर्दै सबै नागरिकका लागि निःशुल्क कानुनी सहायताको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ । नेपाललाई नगदरहित कारोबार गर्ने देशको रूपमा रूपान्तरण गर्दै लगिने, सहकारी पीडितलाई न्याय दिलाइने तथा २०४७ सालदेखि हालसम्मका जनप्रतिनिधि, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका पदाधिकारी र संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरिने उल्लेख गरिएको छ ।

नीति तथा बजेटसँग जोडने, समावेशी विकास कार्यक्रमलाई प्रभावकारी बनाउने तथा सम्पूर्ण नागरिकलाई खानेपानीको व्यवस्था सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । पूर्वाधार विकासलाई आर्थिक रूपान्तरणको आधार मान्दै देशव्यापी रूपमा यातायात सञ्जाल विस्तार गरिने घोषणा गरिएको छ ।

पाँच वर्षभित्र हुलाकी राजमार्ग परियोजना सम्पन्न गरिने, पूर्वपश्चिम रेलमार्ग निर्माणलाई उच्च प्राथमिकता दिइने तथा मधेशका जिल्लामा उत्तर–दक्षिण सडक सञ्जालसहित आर्थिक करिडोर विकास गरिने उल्लेख छ ।

घोषणापत्रमार्फत जसपाले राज्यको उद्देश्य नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हुनुपर्ने धारणा अघि सारेको छ । राज्यले न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमार्फत प्रत्येक नागरिकलाई राष्ट्र निर्माणको सक्रिय शक्तिका रूपमा विकास गनुपर्ने र त्यसमा जसपाले योगदान गर्ने अठोट गरिएको छ ।