मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको छः सांसद वाग्ले

दमौली (तनहुँ), २४ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं नवनिर्वाचित सांसद डा स्वर्णिम वाग्लेले मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन तनहुँ क्षेत्र नं १ मा निर्वाचित भएर शनिबार प्रमाणपत्र ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकलाई सही बाटोमा हिँडाउने जिम्मेवारी जनताले पार्टीलाई दिएको उल्लेख गर्नुभयो ।

अहिलेको निर्वाचनको परिणाम सौम्य शान्तिपूर्ण क्रान्ति भएको बताउँदै सांसद वाग्लेले भन्नुभयो, “एकथोपो रगत नबगाइकन जनता जनार्दन हुन्छन् भनेर चर्चा गरेको प्रणाली गोप्य मतदानमार्फत जनताले सुन सन्देश प्रवाह गर्नुभएको छ यसको चीरकायी महत्व रहेको छ ।

यसको ऐतिहासिक गाम्भीर्यतालाई बुझेर मुलुकलाई सही बाटोमा अगाडि बढाउनुपर्नेछ ।” सांसद वाग्लेले ठूलो जिम्मेवारी काँधमा आएको बताउँदै तनहुँका जनताले गर्व गर्न लायक सांसद बन्ने बताउनुभयो ।

आम जनताले गर्नुभएको आशा थिति बसाइदिनुहोस्, सुशासन कायम होस् भन्ने अपेक्षा पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

जेनजी आन्दोलनको जगमा भएको परिवर्तनको सम्बोधन गरिने बताउँदै उहाँले युवाहरूले आशा गर्न लायकको मुलुक बनाउने लक्ष्य रहेको बताउँदै त्यसलाई न्याय हुनेगरी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।