काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ ।
रजत जयन्तीको अवसरमा कम्पनीद्वारा बीमितहरूका लागि पहिलो पटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याइएको हो । ३० दिनको अवधिका लागि ल्याइएको यस अवसरलाई बीमालेख व्यतीत भएका आम बीमितहरूले भरपूर रूपमा उपयोग गरी विलम्ब शुल्क छुटको लाभ लिन सक्नेछन् ।
वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा, सहज रूपमा नवीकरण बीमाशुल्क भुक्तानीमार्फत त्यस्ता व्यतीत बीमालेखहरू पुनः सक्रिय गरी बीमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको महसुस गर्दै कम्पनीले मिति २०८३/०१/०७ देखि २०८३/०२/०५ सम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३ लागू गरेको छ ।
नेपाल लाइफले आफ्ना सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेको छ ।


















