दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको आगामी संस्करणमा नेपाली टोली समूह ‘ए’मा परेको छ ।
नेपालको समूहमा श्रीलंका र भुटान परेका छन् । भारत, बंगलादेश र माल्दिभ्स भने प्रतियोगिताको समूह ‘बी’ मा परेका छन् ।
प्रतियोगिताको समूह विभाजन बंगलादेशको ढाकामा सार्वजनिक गरिएको हो । प्रतियोगिता भने आगामी मे २५ देखि जुन ७ तारिखसम्म भारतको गोवामा आयोजना हुनेछ ।
प्रतियोगिताको समूह चरणमा प्रत्येक टोलीले एक–अर्कासँग एक/एक खेल खेल्नेछन् । समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको विस्तृत खेल तालिका भने सार्वजनिक गरिएको छैन । प्रतियोगिताका सबै खेल पण्डित जवाहारलाल नेहरु रंगशालामा खेलाइने छ ।
भारतले महिला साफ च्याम्पियनसिप आयोजना गर्न लागेको यो दोस्रो पटक हो । यसअघि, सन् २०१६ मा भारतको सिलिगुढीमा महिला साफ च्याम्पियनसिप आयोजना भएको थियो ।
बंगलादेश महिला साफ च्याम्पियनसिपको साविक विजेता हो । सन् २०२४ मा आयोजना भएको सातौँ संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोलले हराएको थियो ।


















