पाउण्डको बढोत्तरीमा पनि ऐतिहासिक उचाइ ,यस्तो छ आजको बिनिमय दर

काठमाडौं। अमेरिकी डलर लगातार बलियो भएको छ। युरोपियन युरो र पाउण्ड स्टर्लिङ पनि अघिल्लो दिनका  तुलनामा महँगिएका छन्। पाउण्डको बढोत्तरीमा पनि ऐतिहासिक उचाइ छ। चालु साताको प्रारम्भदेखि नै डलर बलियो भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १५० रुपैयाँ ५० पैसा र बिक्री दर १५१ रुपैयाँ १० पैसा पुगेको छ। शुक्रबार खरिद दर १५० रुपैयाँ २८ पैसा र बिक्री दर १५० रुपैयाँ ८८ पैसा थियो।

गत बिहीबार खरिद दर १४९ रुपैयाँ ७८ पैसा र बिक्री दर १५० रुपैयाँ ३८ पैसा थियो। त्यसअघि बुधबार खरिद दर १४९ रुपैयाँ ३१ पैसा र बिक्री दर १४९ रुपैयाँ ९१ पैसा थियो। डलरसँगै विश्वबजारमा सुन पनि महँगिएको छ। २४ घण्टामा २.५२ डलर बड्दै सुन शनिबार प्रति औंस ४७०८.६९ डलर भएको छ। यस्तै चाँदी पनि बढेर प्रति औंस ७५.६९ डलरले कारोबार भइरहेको छ।

अमेरिकी डलर लगातार महँगिँदा नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा सीधा असर पर्छ। पेट्रोलियम पदार्थ, औषधि, मेसिनरीलगायत आयातित वस्तुको लागत बढ्दा महँगी थप चर्किन्छ। डलरमा लिइएका विदेशी ऋणको भार पनि बढ्ने भएकाले सरकारको ऋण व्यवस्थापन दबाबमा पर्छ। यद्यपि विदेशबाट आउने रेमिट्यान्स भने रुपैयाँमा रूपान्तरण हुँदा बढी देखिन्छ।

विश्व बजारमा डलर बलियो हुँदा अन्य मुद्राहरू कमजोर बन्छन्, जसले अन्तर्राष्ट्रिय व्यापार सन्तुलनमा असन्तुलन ल्याउँछ। उदीयमान अर्थतन्त्रबाट पुँजी बाहिरिने, सेयर बजारमा उतारचढाव बढ्ने र केन्द्रीय बैंकहरूले ब्याजदर बढाउने जस्ता प्रवृत्ति पनि देखिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिले डलर महँगिनुको मुख्य कारण मध्यपूर्व तनाव, तेल मूल्य वृद्धि, महँगीको दबाब र ब्याजदर घट्ने अपेक्षा कमजोर हुनु हो। यसले लगानीकर्तालाई डलरतर्फ आकर्षित गरिरहेको छ, जसले विश्वभर डलरलाई बलियो बनाएको छ।

नेपाल राष्ट्र बैंकको शनिबारको विनिमय दर अनुसार विदेशी मुद्राहरूको तुलनामा नेपाली रुपैयाँ थप कमजोर देखिएको छ। युरो, पाउण्ड, स्वीस फ्रयांक, सिंगापुर डलर, चिनियाँ युआनसँगै खाडी मुलुकका मुद्रा पनि महँगिएका छन्।

शनिबार युरोपियन युरोको खरिद दर १७६ रुपैयाँ ३६ पैसा बिक्री दर १७७ रुपैयाँ ७ पैसा भएको छ। शुक्रबार खरिद दर १७५ रुपैयाँ ५६ पैसा र बिक्री दर १७६ रुपैयाँ २६ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर २०३ रुपैयाँ २३ पैसा र बिक्री दर २०४ रुपैयाँ ४ पैसा पुगेको छ। शुक्रबार खरिद दर २०२ रुपैयाँ ८० पैसा र बिक्री दर २०३ रुपैयाँ ६१ पैसा थियो। स्वीस फ्रयांक पनि बढेर खरिद दर १९१ रुपैयाँ ६३ पैसा र बिक्री दर १९२ रुपैयाँ ४० पैसा भएको छ।