महिला भलिबल च्याम्पियनसिप काभा जेठको दोस्रो साता हुने
सन्दर्भ टुडे
२०८३ वैशाख २७ आइतवार १९:१७
21
shares
नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप जेठको दोस्रो साता हुने भएको छ । प्रतियोगिता ८ देखि १५ सम्म दशरथ रंगशालाको कभर्ड हुलमा हुनेछ । यसमा कुल ८ देशको सहभागिता रहनेछ ।
प्रतियोगितालाई लिएर आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सबै तयारी पूरा भएको बताए । उनले प्रतियोगितामा नेपालले राम्रो नतिजाको अपेक्षा गर्न सक्ने दाबी पनि गरे । पत्रकार सम्मेलनकै अवसरमा प्रतियोगिताको ट्रफि पनि सार्वजनिक गरिएको थियो ।
प्रतियोगितामा सहभागी हुने देशमा नेपालसँगै इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र काजाकिस्तान रहेका छन् । प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघको औपचारिक कार्यक्रम रहेको हुनाले यसको प्रभाव विश्व वरीयतामा पनि पर्नेछ ।
प्रतियोगिताको कुल बजेट दुई करोड ५० लाख रुपैयाँ रहनेछ । प्रतियोगिताको तयारीका क्रममा अहिले १६ खेलाडी सम्मिलित टिमको प्रशिक्षण चलिरहेको छ ।