आदरणीय दिपा नेपाली जी,
हार्दिक नमस्कार।
नेपालमा लामो समयदेखि जातीय विभेद, अन्याय र उत्पीडनविरुद्ध चेतनाको दीप बाल्दै, शान्तिपूर्ण सत्याग्रहको बाटो रोजेर निरन्तर संघर्ष गरिरहनुभएको तपाईंप्रति म गहिरो सम्मान व्यक्त गर्न चाहन्छु। सदियौँदेखि विभेदको भारीले थिचिएका आवाजहरूलाई तपाईंले शब्द दिनुभएको छ, मौन बनाइएका पीडाहरूलाई अभिव्यक्ति दिनुभएको छ, र उठ्न नसकेकाहरूलाई उठ्ने साहस प्रदान गर्नुभएको छ।
एकाइसौँ शताब्दीमा आइपुग्दा पनि मानिसले मानिसमाथि जन्मकै आधारमा विभेद भोग्नुपरेको यथार्थ अत्यन्त दुःखद छ। समानता, न्याय र मानवताको कुरा संविधानका पानामा मात्र सीमित रहनु हुँदैन; ती हरेक नागरिकको जीवनमा अनुभूत हुने वास्तविकता बन्नुपर्छ। तर दुर्भाग्यवश, आज पनि दलन, अपमान र अन्यायको चक्र उस्तै जिउँदो छ।
यही यथार्थलाई अन्त्य गर्न तपाईंले सञ्चालन गरिरहनुभएको “सरकार, कोठा खाली छ” भन्ने शान्तिपूर्ण सत्याग्रह धर्ना अभियानले अहिले सदनदेखि सडकसम्म सबैको ध्यान तानेको छ। मन्त्रीहरू, नेताहरू र जिम्मेवार निकायहरूमा चासो बढिरहेको छ। तर अब केवल चासो पर्याप्त छैन। अब सान्त्वना मात्र होइन, न्याय चाहिन्छ। अब आश्वासन मात्र होइन, कार्यान्वयन चाहिन्छ। अब सहानुभूति मात्र होइन, मुक्ति चाहिन्छ।
दिपा जी,
तपाईंलाई केही आश्वासनहरू दिइनेछन्। कार्यान्वयनमा ढिलासुस्ती पनि हुन सक्छ। अनेक बहाना, दबाब र सम्झौताका प्रस्तावहरू पनि आउन सक्छन्। तर कृपया बिचलित नहुनुहोस्। तपाईंले आफ्नो मुद्दालाई जुन साहस, स्पष्टता र गर्वका साथ प्रस्तुत गर्नुभएको छ, त्यसले हजारौँ उत्पीडित मनहरूमा आशाको उज्यालो जगाएको छ।
सत्याग्रह धर्नामा तपाईं जसरी अडिग भएर आजसम्म उभिनुभएको छ, त्यसप्रति मेरो हार्दिक सम्मान र सलाम छ।
कृपया अब डगमगाउनु हुँदैन। अति भयो, धेरै ढिला भयो। अब हाम्रो मुद्दालाई फेरि थाती राख्ने समय छैन। हाम्रो माग, हाम्रो पहिचान, हाम्रो अधिकार र मानवताको सम्मान हामीले पाउनैपर्छ।
हामीलाई कसैले दबाब दिन खोजोस्, थिचोमिचो गर्न खोजोस्, आफ्नो अडान कहिल्यै नछोड्नुहोला। यो पटक वार्ता भंग हुन सक्छ, संवाद अधुरो रहन सक्छ, तर आफ्नो स्वाभिमान र न्यायको मुद्दामा सम्झौता नगर्नुहोला। तपाईं कसैको छायाँमा उभिने व्यक्ति होइन, आफैँ नेतृत्व गर्न सक्ने क्षमताकी व्यक्तित्व हुनुहुन्छ। यो संघर्षलाई अब जित्ने लडाइँमा रूपान्तरण गर्नुपर्छ।
तपाईंलाई तल पारेर कुरा गर्न खोज्ने मन्त्रीहरू र सत्तामा रहेका व्यक्तिहरूसामु पनि निर्भीक भएर आफ्नो कुरा राख्नुहोस्। दृढतापूर्वक भन्नुहोस्—
“पहिला हाम्रो कुरा स्पष्ट रूपमा सुनिनुपर्छ। न्यायको आधार संवाद हो, र संवाद भनेको एकअर्काको कुरा सम्मानपूर्वक सुन्ने प्रक्रिया हो। त्यसैले हाम्रो जायज आवाज सुन्नैपर्छ।”
दिपा जी,
तपाईंलाई देख्दा गर्वले छाती चौडा हुन्छ। न्याय, समानता र आत्मसम्मानका लागि तपाईंले देखाउनुभएको साहस केवल एउटा आन्दोलनको नेतृत्व होइन, यो नयाँ पुस्ताका लागि प्रेरणा हो। तपाईंको संघर्ष कुनै एउटा समुदायको मात्र संघर्ष होइन; यो सम्पूर्ण मानवताको संघर्ष हो। यस्तो समाज निर्माण गर्ने अभियान हो, जहाँ मान्छेले मान्छेलाई जन्मका आधारमा होइन, मानवताको आधारमा सम्मान गरोस्।
मेरो कामना छ—हाम्रो देश सुन्दर बनोस्, सभ्य बनोस्, शान्त र समृद्ध बनोस्। कुनै पनि नागरिकले आफ्नो अस्तित्व प्रमाणित गर्न सडकमा बस्न नपरोस्। न्यायका लागि भोक हड्ताल र धर्ना गर्नुपर्ने बाध्यता अन्त्य होस्। उत्पीडित समुदायका आँसुहरू सम्मान र समानताको मुस्कानमा रूपान्तरण होऊन्।
यस महान् अभियानमा मेरो पूर्ण ऐक्यबद्धता, समर्थन र शुभेच्छा रहनेछ। आम उत्पीडित, अन्याय र दलनमा परेका समुदायहरूको हितका लागि तपाईंले उठाएको यो कदम इतिहासले सम्झिनेछ।
मानवता जागोस्। चेतना फैलियोस्। मान्छेले मान्छेलाई सम्मान गर्न सिकून्। यही कामनासहित—
तपाईंप्रति हार्दिक सम्मान, सलाम र सफलताको शुभकामना।
तपाईंको शुभचिन्तक,
किरण जी
हाल जापान


















