केपि कुमार जलन
सुर्खेत— कर्णाली प्रदेशका बिरामीहरूलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुर्खेत अस्पताल प्रालि, वीरेन्द्रनगर–३, जुम्लारोड सुर्खेतमा वरिष्ठ युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) डा. निर्मल रसाली द्वारा युरोलोजी सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार सेवा सञ्चालनमा आएको छ।
अस्पतालका अनुसार डा. रसालीले मूत्रनली, मिर्गौला, पिसाबथैली तथा प्रोस्टेट ग्रन्थिसम्बन्धी विभिन्न रोगहरूको आधुनिक प्रविधिमार्फत उपचार तथा शल्यक्रिया सेवा प्रदान गरिरहेका छन्। दैनिक रूपमा सञ्चालन हुने युरोलोजी ओ.पी.डी. सेवाले कर्णाली प्रदेशका बिरामीलाई सहज र प्रभावकारी उपचार प्राप्त गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
अस्पतालले पिसाब पोल्ने, पिसाबको धार कम हुने, प्रोस्टेट ग्रन्थि बढेर पिसाब रोकिने, पिसाबको संक्रमण, पिसाब फेरि–फेरि लाग्ने, पिसाब गर्न गाह्रो हुने लगायतका समस्याको विशेषज्ञ उपचार उपलब्ध गराउँदै आएको जनाएको छ। साथै मिर्गौला, पिसाबनली, पिसाबथैलीको पत्थरी तथा प्रोस्टेटसम्बन्धी रोगहरूको दूरबिन (एन्डोस्कोपिक) प्रविधिबाट शल्यक्रिया सेवा समेत सञ्चालनमा रहेको छ।
एम.एस. (जनरल सर्जरी) तथा एम.चि. (युरोलोजी) उपाधि हासिल गरेका डा. रसाली नेपाल मेडिकल काउन्सिलमा दर्ता प्राप्त विशेषज्ञ चिकित्सक हुन्। उनको नेतृत्वमा सुर्खेत अस्पतालले युरोलोजी सेवाको विस्तार गर्दै बिरामीलाई राजधानी धाउनुपर्ने बाध्यता कम गर्ने लक्ष्य लिएको जनाएको छ।
स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवाको पहुँच विस्तारसँगै कर्णालीवासीका लागि यो सेवा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अस्पतालले समयमै स्वास्थ्य परीक्षण गराई आवश्यक परामर्श लिन सर्वसाधारणलाई अनुरोध गरेको छ।


















