रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन:केन्द्रीय समितिमा झण्डै आधा महिला

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत सभापतिबाहेक पाँच पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचनबाट उपसभापतिमा सविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भएका छन् । उपसभापतिको निर्वाचनमा सविता गौतमले ७८९ मत प्राप्त गर्दै डा. तोसिमा कार्कीलाई पराजित गरिन् । कार्कीले ५७२ मत प्राप्त गरिन् । यसअघि अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित भइसकेका थिए । महामन्त्री पदमा विपिन आचार्य विजयी भए ।

उनका प्रतिस्पर्धी पार्टीका प्रवक्ता मनिष झाले मतपरिणाम सार्वजनिक भएपछि आचार्यलाई बधाई दिएका थिए । झालाई हराउनका लागि आकांक्षीहरुले अन्तिम समयमा आचार्यलाई समर्थन गरेका थिए । त्यस्तै सहमहामन्त्रीतर्फ हरि ढकाल र असिम शाह निर्वाचित हुँदा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भएकी छन् ।

यसैबीच, महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ४९ जना महिला निर्वाचित भएका छन् । यससँगै नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व ४९.४९ प्रतिशत पुगेको छ, जुन दलको नेतृत्व तहमा उल्लेखनीय लैंगिक सहभागिताका रूपमा हेरिएको छ । निर्वाचन आयोगका अनुसार ९९ सदस्यीय कार्यसमितिमा ५० पुरुष र ४९ महिला निर्वाचित भएका छन् ।

रास्वपाको विधानअनुसार केन्द्रीय कार्यसमितिमा प्रत्यक्ष निर्वाचित सभापति, ९९ निर्वाचित केन्द्रीय सदस्य, सभापतिबाट मनोनित ५१ सदस्य तथा सातै प्रदेशका प्रदेश सभापति पदेन सदस्य रहने व्यवस्था छ । यसका साथै, सभापति पदमा उम्मेदवारी दिएर कुल मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवार स्वतः केन्द्रीय सदस्य बन्न सक्ने प्रावधान पनि रहेको छ ।

निर्वाचित ९९ केन्द्रीय सदस्यमध्ये ३५ जना प्रदेशबाट र ६४ जना राष्ट्रिय स्तरबाट चयन भएका छन् । प्रदेशतर्फ प्रत्येक प्रदेशबाट पाँच जनाका दरले प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । जसमा कम्तीमा दुई महिला अनिवार्य रहने प्रावधान छ । प्रदेशगत रूपमा बागमतीबाट निर्वाचित पाँचै जना केन्द्रीय सदस्य महिला रहेका छन् ।

कोशी, मधेश, लुम्बिनी र कर्णालीबाट चार–चार जना महिला निर्वाचित भएका छन् भने गण्डकी र सुदूरपश्चिमबाट दुई–दुई जना महिला निर्वाचित भएका छन् । महिलाहरू कोटामा मात्र सीमित नभइ प्रतिस्पर्धाबाट विजयी हुनु सकारात्मक सन्देश भएको कर्णालीबाट निर्वाचित केन्द्रीय सदस्य विनिता कठायतले बताइन् ।

अधिवक्ता विनिता बोगटीले पनि पार्टीको नेतृत्व तहमा झण्डै आधा महिला पुग्नु समावेशी राजनीतिका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गरिन् । रास्वपाका प्रदेश सभापति मदन खड्काले पनि महिलाको बढ्दो सहभागितालाई स्वागतयोग्य बताएका छन् ।