केपि कुमार जलन

काठमाडौं, असार १५ — नेपाली लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै वरिष्ठ स्रष्टा पवित्रा रसाइलीलाई ‘धुन माटो आजीवन सम्मान–२०८३’ प्रदान गरिएको छ।
‘लोकको धुन, माटोको सुगन्ध’ भन्ने मूल नारासहित सञ्चालन भएको धुन माटो परिवार कार्यक्रम समितिले नेपाली लोक–संगीतको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा उहाँले पुर्याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप उक्त सम्मान प्रदान गरेको हो।
सम्मान–पत्रमा पवित्रा रसाइलीले नेपाली लोक तथा दोहोरी गीत–संगीतमा पुर्याएको योगदान, सिर्जनात्मकता र निरन्तर साधनाको उच्च मूल्याङ्कन गर्दै उहाँको योगदान नेपाली लोक–संस्कृतिको उत्थान, संरक्षण र प्रवर्द्धनमा सधैं स्मरणीय रहने उल्लेख गरिएको छ।
धुन माटो परिवार कार्यक्रम समितिका अध्यक्ष दुर्गा बिरही र सचिव सन्तोष पँडेराको हस्ताक्षरसहित प्रदान गरिएको उक्त सम्मानले नेपाली लोकसङ्गीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूको सम्मान र हौसला अभिवृद्धि गर्ने विश्वास गरिएको छ।


















