केपि कुमार जलन
काठमाडौं — नेपाली सङ्गीत क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय लोकप्रिय गायक शिव परियारलाई “म्युजिक खबर दशक सङ्गीत सम्मान २०८२” प्रदान गरिएको छ। १३औँ म्युजिक खबर म्युजिक अवार्ड समारोहका अवसरमा उनलाई सम्माननीय पूर्व प्रथम उपराष्ट्रपति परमानन्द झाको हातबाट उक्त सम्मान प्रदान गरिएको हो।
समारोहमा नेपाली सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका कलाकारहरू, सर्जक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सम्मान ग्रहणपछि गायक परियारले आफूलाई योग्य ठानी सम्मान प्रदान गरेकोमा ‘म्युजिक खबर परिवार’, जुरी सदस्यहरू तथा सम्पूर्ण दर्शक–श्रोताप्रति हार्दिक आभार व्यक्त गरे। उनले यो सम्मानले आफ्नो सङ्गीत यात्रामा थप जिम्मेवारी र प्रेरणा थपेको बताएका छन्।
“यो सम्मान मेरो मात्र होइन, यहाँहरूको माया र साथको प्रतिफल हो। मेरो आवाजलाई यति माया दिनुभएकोमा म हृदयदेखि नै आभारी छु,” परियारले भने।
उनले नेपाली सङ्गीतप्रति सधैं जिम्मेवार रही आगामी दिनमा अझ सशक्त रूपमा साङ्गीतिक यात्रा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यो सम्मानसँगै शिव परियारको लामो साङ्गीतिक योगदानलाई फेरि एकपटक राष्ट्रिय स्तरमा उच्च मूल्याङ्कन गरिएको छ।


















