हेटौंडा, ६ साउन। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।
पार्टीको निर्देशनपछि पाँच दिनदेखि काठमाडौंमा रहेका मन्त्रीहरू हेटौंडा फर्किएका हुन्। यसअघि दुई पटक राजीनामा दिने तयारी भए पनि पार्टी नेतृत्वले निर्णय स्थगित गरेको थियो। पछिल्लो राजनीतिक छलफलपछि भने एमालेले सरकारबाट बाहिरिने निर्णयलाई अन्तिम रूप दिएको बताइएको छ।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना रहेको छ। नेपालको संवैधानिक व्यवस्थाअनुसार अब मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुनेछ। विश्वासको मत प्राप्त गर्न नसके बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।


















