प्रकाश पराजुलीको ‘म्वाई खाँदै’ले मच्चायो तहल्का, छोटो समयमै दर्शकको रोजाइमा

केपि कुमार जलन

हरितालिका तीज नजिकिँदै गर्दा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढिरहेको छ। यसैबीच गायक तथा सर्जक प्रकाश पराजुलीको नयाँ तीज गीत ‘म्वाई खाँदै’ सार्वजनिक भएको छ। गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोताको ध्यान खिच्न सफल भएको छ।

प्रकाश पराजुलीको शब्द तथा लयमा तयार भएको गीतमा चर्चित गायिका देवी घर्तीले स्वर दिएकी छन्। कृष्ण केसीको संगीत संयोजन रहेको गीतमा तीजको मौलिक स्वादसँगै सामाजिक तथा मनोवैज्ञानिक विषयलाई समेत उठान गरिएको छ।

‘म्वाई खाँदै’मा सम्पन्न परिवारकी चेलीको बाहिरी सुख–सुविधाभित्र लुकेको मनको पीडा, पारिवारिक अवस्था र सामाजिक यथार्थलाई कथावस्तु बनाइएको छ। तीजलाई केवल रमाइलो र नाचगानको पर्वका रूपमा मात्रै नभई महिलाले आफ्ना भावना र भोगाइ अभिव्यक्त गर्ने अवसरका रूपमा प्रस्तुत गर्ने प्रयास गीतमा गरिएको छ।

गीतको भिडियोमा प्रकाश पराजुली, प्रिया अधिकारी र हिवाला गौतमको अभिनय रहेको छ। कलाकारहरूको अभिनयमार्फत गीतको कथालाई दृश्यमा प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन जेरी भण्डारीले गरेका हुन्।

सार्वजनिक भएको नवाै दिनसम्म ३ लाख बढी भ्युज प्राप्त गर्न सफल ‘म्वाई खाँदै’ले पछिल्लो समय तीज गीतप्रति दर्शक–श्रोताको बढ्दो चासोलाई समेत देखाएको छ। गीतको कथावस्तु, प्रस्तुति, संगीत र अभिनयका कारण सामाजिक सञ्जालमा समेत यसको चर्चा बढिरहेको छ।

तीज नजिकिँदै गर्दा सार्वजनिक भएका विभिन्न गीतबीच प्रतिस्पर्धा बढिरहेका बेला ‘म्वाई खाँदै’ले भने फरक कथावस्तु र प्रस्तुतिका कारण आफ्नो छुट्टै पहिचान बनाउने संकेत गरेको छ। आगामी दिनमा गीतले कस्तो सफलता हासिल गर्छ, त्यो भने दर्शक–श्रोताको मायाले निर्धारण गर्नेछ।