परदेशमा बसेर नेपाली गीत–संगीतमा निरन्तर सक्रिय गायिका निसा केसीले पछिल्लो समय आफ्ना अनुभव र भावनालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। लामो समयपछि केही कुरा बुझेर र केही कुरा अनुभव गरेर मनमा लागेको कुरा बोल्न मन लागेको भन्दै उनले कलाकारबीचको सम्बन्ध, सहयोग, अपेक्षा र संघर्षबारे आफ्नो धारणा राखेकी हुन्।
परदेशमा बसेर दुःख–सुख गर्दै गीत–संगीतमा केही गर्ने सपना बोकेर आफू निरन्तर अघि बढिरहेको बताउँदै केसीले कलाकारका सिर्जना सार्वजनिक हुँदा एक–अर्काबाट सहयोग र सेयरको अपेक्षा गरिनु स्वाभाविक भए पनि त्यसलाई बाध्यता बनाउन नहुने बताएकी छन्।
उनले आफूले कसैलाई आफ्नो गीत अनिवार्य रूपमा सेयर गरिदिनुपर्छ भनेर कहिल्यै अपेक्षा नराखेको उल्लेख गर्दै आफ्नो ठाउँबाट सकेको मेहनत र संघर्ष गर्दै आएको बताएकी छन्। उनका अनुसार सबैको परिस्थिति, सोच, व्यस्तता र प्राथमिकता फरक हुने भएकाले कसैले गीत मन परेर आफैँ सेयर गर्न सक्छन् भने कसैलाई मन नपर्न पनि सक्छ। त्यसलाई लिएर सानो कुरामा चित्त दुखाउने वा रिसाउनेभन्दा एक–अर्काको भावनालाई बुझ्नु आवश्यक हुन्छ।
परदेशमा बसेर नेपाली गीत–संगीतमा लगानी गर्ने तथा आफ्नो पसिना र मेहनत बजारमा लगाएर सिर्जना सार्वजनिक गर्ने हरेक कलाकारको संघर्ष आफूले नजिकबाट महसुस गर्ने पनि केसीले बताएकी छन्। आफूले कसैको गीत सेयर गरे पनि नगरे पनि कलाकारले गरेको मेहनत र संघर्षलाई सम्मान गर्ने उनको भनाइ छ।
‘परदेशमा बसेर नेपाली गीत–संगीतका लागि केही गरौँ’ भन्ने उद्देश्यले गरिएका हरेक प्रयासले आफूलाई छुने बताउँदै उनले कलाकारबीच पारस्परिक सम्मान र समझदारी आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्।
केसीले आफ्नो भनाइमार्फत अपेक्षा राख्न सकिने तर त्यसलाई सम्बन्धमाथि बोझ बनाउन नहुने, सहयोग गर्नुपर्ने तर सहयोगलाई बाध्यता बनाउन नहुने सन्देश दिएकी छन्। अन्ततः एक–अर्काको मेहनत, संघर्ष र भावनाको सम्मान नै सबैभन्दा ठूलो कुरा भएको उनको भनाइ छ।
उनको यो अभिव्यक्तिले नेपाली गीत–संगीत क्षेत्रमा रहेका कलाकारबीच आपसी समझदारी, सहयोग र सम्मानको महत्वलाई पुनः उजागर गरेको छ।
“हामी सबैको यात्रा फरक होला, तर संघर्षको पीडा र सपनाको मूल्य धेरै हदसम्म उस्तै हुन्छ,” भन्ने भावसहित गायिका निसा केसीले आफ्नो भनाइको अन्त्य गरेकी छन्


















