केपि कुमार जलन
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित आफ्ना आबद्ध कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने भएको छ।
प्रतिष्ठानले भदौ १५ गते जारी गरेको विज्ञप्तिमार्फत बाढीका कारण कलाकार तथा परिवारमा परेको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा संस्थागत रूपमा सहयोग गर्ने निर्णय गरेको जनाएको हो।
प्रतिष्ठानका अनुसार बाढीका कारण आबद्ध कलाकारको मृत्यु भएमा उनका श्रीमान्/श्रीमती, छोराछोरी वा एकाघर परिवारलाई ५१ हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ। त्यस्तै, आबद्ध कलाकारका आमा/बुवा, श्रीमान्/श्रीमती वा छोरा/छोरीको बाढीका कारण मृत्यु भएमा ३१ हजार रुपैयाँ राहत प्रदान गरिनेछ।
बाढीका कारण आबद्ध कलाकार घाइते भई उपचाररत रहेको अवस्थामा उपचार सहयोगस्वरूप २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ। घाइतेको अवस्था र उपचारको आवश्यकताअनुसार सहयोग रकम निर्धारण गरिनेछ।
त्यसैगरी बाढीका कारण आबद्ध कलाकारको घर, धनसम्पत्ति तथा अन्य भौतिक सम्पत्तिमा क्षति पुगेमा २० हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
प्रतिष्ठानले राहत तथा सहयोग वास्तविक अवस्थाको आवश्यक छानबिन गरी उपलब्ध गराइने स्पष्ट पारेको छ। विपद्को कठिन घडीमा आफ्ना कलाकार तथा परिवारको साथमा रहनु संस्थाको दायित्व भएको भन्दै प्रतिष्ठानले सबै शाखा, समिति, कलाकार तथा शुभेच्छुकबाट आवश्यक सहयोग र सहजीकरणको अपेक्षा गरेको छ।
विज्ञप्तिमा प्रतिष्ठानका अध्यक्ष रीता थापा मगर र महासचिव शिव हमालको हस्ताक्षर रहेको छ।



















