पशुपति क्षेत्र विकास कोष सञ्चालक समिति सदस्य सङीता कुमारी रामलाइ रास्ट्रिय दलित आयोगले गर्यो सम्मान

राष्ट्रिय दलित आयोगले बिहीबार नेपाल सरकारको निर्णयअनुसार पशुपति क्षेत्र विकास कोष सञ्चालक समिति सदस्यमा नियुक्त रौतहट, चपुर निवासी संगीता कुमारी रामलाई सम्मानसहित बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ। आफ्नो कार्यालयमा रामलाई बोलाएर सम्मान गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना दिएको हो।

आयोगले रामको नियुक्तिलाई मधेशी दलित समुदायको प्रतिनिधित्व र सहभागितालाई संस्थागत गर्ने प्रयासका रूपमा लिएको जनाएको छ।

सम्मान कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य एवं प्रवक्ता सुन्दर पुर्कोटी, आयोगका सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आयोगका पदाधिकारीहरूले सार्वजनिक निकायमा दलित समुदायको अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेको उल्लेख गर्दै रामको जिम्मेवारीले मधेशी दलित समुदायका सवाललाई सम्बन्धित निकायसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक समिति सदस्यमा नियुक्त राम रौतहटको चपुर निवासी हुन्। उनको नियुक्तिसँगै धार्मिक तथा सांस्कृतिक क्षेत्रको महत्वपूर्ण संस्थामा मधेशी दलित समुदायको प्रतिनिधित्व भएको आयोगले जनाएको छ।

राष्ट्रिय दलित आयोगले पछिल्लो समय दलित समुदायको समावेशी प्रतिनिधित्व र अधिकार सुनिश्चितताका विषयलाई प्राथमिकतामा राख्दै आएको छ। रामको नियुक्तिलाई पनि सोही सन्दर्भमा सकारात्मक रूपमा लिइएको आयोगको भनाइ छ।