केपि कुमार जलन/
बागलुङ । घरदेश छोडेर परदेश पुगेको तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेका सर्जक ईश्वर बाबुले परदेशी जीवनका संघर्ष, पीडा, जिम्मेवारी र मातृभूमिप्रतिको मायालाई समेटिएको नयाँ गीत ‘पापी पेट पाल्नै पर्यो’ सार्वजनिक गर्ने तयारी गरेका छन्।
हाल अमेरिकामा रहेका ईश्वर बाबुले परदेशी जीवनमा भोगेका अनुभव, परिवारबाट टाढिँदाको पीडा र भविष्य निर्माणका लागि गर्नुपरेको संघर्षलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन्। घर बनाउन भन्दै घर छोडेको, भविष्य बनाउन भन्दै बनाउँदै गरेको भविष्यसमेत छोडेको र सुखको आशामा आफ्ना धेरै खुसी त्यागेर परदेश आएको अनुभवलाई उनले सिर्जनामार्फत पोखेका छन्।
परदेशमा रहे पनि मन भने हरेक दिन आफ्नै देशमा रहेको बताउँदै ईश्वर बाबुले बुवा–आमा, साथीभाइ, घरको आँगन र गाउँघरको सम्झनामा धेरैपटक आँसु झारेको स्मरण गरेका छन्। ननिदाएका रात र भोकै कटाएका दिनहरूबाट जन्मिएका शब्द र धुनले अन्ततः ‘पापी पेट पाल्नै पर्यो’ गीतको रूप लिएको उनको भनाइ छ।
उनका अनुसार यो सिर्जना तयार गर्न करिब साढे दुई वर्ष लागेको छ। परदेशमा रहेर पनि गीत–संगीतलाई निरन्तरता दिने क्रममा अडियोदेखि भिडियो निर्माणसम्म आइपुग्दा धेरै हन्डर र ठक्कर व्यहोर्नुपरेको उनले बताएका छन्।
यसअघि ‘नेपाल छोड्ने दिन आयो’ सिर्जना श्रोतामाझ ल्याएका ईश्वर बाबुले नेपाल छोडेको तीन वर्षपछि आफ्ना अभिभावक एवं आदरणीय गुरु खेम सेन्चुरीको आवाजमा अर्को सिर्जना लिएर दर्शक तथा श्रोतामाझ आउन लागेका हुन्।
परदेशी जीवनमा आफूले भोगेको यथार्थलाई गीतमा उतारिएको भन्दै ईश्वर बाबुले नयाँ सिर्जनाले नेपाली संगीतप्रेमी तथा परदेशमा रहेका नेपालीको मन छुने विश्वास व्यक्त गरेका छन्।
नयाँ गीतको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाउँदै उनले कठिन यात्रामा साथ, हौसला, प्रेरणा र आशीर्वाद दिने सम्पूर्ण अग्रज, आफन्त, साथीभाइ तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
‘पापी पेट पाल्नै पर्यो’ चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको छ।
















