नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद गणेश विश्वकर्माले जलवायु परिवर्तनका कारण हिमालमा परेको असर र त्यसबाट नेपालले व्यहोर्नुपरेको क्षतिपूर्तिको विषय अन्तर्राष्ट्रियस्तरमा जोडदार रूपमा उठाउन सरकारसँग आग्रह गरेका छन् ।
उनले संयुक्त राष्ट्रसङ्घको महासभामा जानु पूर्व तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६६ सालमा सगरमाथाको बेसक्याम्पमै मन्त्रिपरिषद्को बैठक राखेर हिमाल पग्लिँदै गएको सन्देश विश्वलाई दिएको स्मरण गराए ।
त्यस क्रममा अमेरिकी राष्ट्रपतिलाई कालो ढुङ्गा हस्तान्तरण गरेर विश्वभर नयाँ सन्देश प्रवाह गरिएको उनले बताए । सांसद विश्वकर्माले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको सङ्कटलाई सम्बोधन गर्न संसदबाटै विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
उनले संसदबाट सङ्कल्प प्रस्ताव पारित गर्न, ‘सेभ द हिमालय’ भन्ने नारा अघि सार्न तथा संसदीय विशेष समिति गठन गर्न प्रस्ताव गरे । त्यस्तै, संसदबाट ‘सन सेट ल’ पारित गर्न र जलवायु सम्बन्धी बलियो कानुन निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए ।
‘शोकलाई शक्तिमा बदलौँ र पुनर्निर्माणलाई अवसरमा बदलौँ’ भन्ने प्रतिबद्धतासहित प्रधानमन्त्री कोषबाट बेत्रावतीदेखि नारायणगढसम्मको पुनर्निर्माण परियोजना घोषणा गर्नसमेत उनले माग गरे ।
प्रतिनिधिसभाको सोमबारको शून्य समयमा उनले मङ्गलवारदेखि हुन गइरहेको प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको महासभा भ्रमणको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै महासभामा जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्तिको माग जोडदार रूपमा उठाइने विश्वास व्यक्त गरे ।


















