काठमाडौं । नेपालमा व्यावसायिक मुवाथाई खेललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित ‘फ्युजन फाइट च्याप्टर–१’ आयोजना हुने भएको छ ।
फ्रोथ फ्युजन प्रालिको आयोजनामा आगामी असोज २४ गते (अक्टोबर १०० काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स) मा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा देशभरका २२ जना फाइटरबीच ११ वटा मुवाथाई भिडन्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा सुष्मा चौधरी र रजिना विष्टबीचको मुख्य भिडन्त रहनेछ ।
मुख्य भिडन्तका विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अन्य प्रो–फाइटका विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ तथा थप तीन प्रो–फाइटका विजेतालाई ४० हजार र उपविजेतालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सेमी–प्रो फाइटका विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् ।
आयोजक फ्रोथ फ्युजनका प्रबन्ध निर्देशक रोशन सुवेदीले नेपाली मुवाथाई खेलाडीको क्षमता र अनुशासनलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनका अनुसार ‘फ्युजन फाइट च्याप्टर–१’ केवल प्रतिस्पर्धामा सीमित नरही नेपालमा कम्ब्याट स्पोर्ट्सको व्यावसायिक उत्पादन र प्रस्तुतीकरणलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास हो ।
प्रतियोगिताको गेट दिउँसो १२ बजे खुल्नेछ । प्रत्यक्ष अवलोकनका लागि टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ ।
प्रतियोगिताको ब्रोडकास्ट पार्टनर कान्तिपुर म्याक्स एचडी, ओटीटी पार्टनर म्याक्स अन, टिकटिङ पार्टनर इसेवा, मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द लगायत विभिन्न संस्थाहरू रहेका छन् । प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी–२ र युट्युबमार्फत तथा लाइभ स्ट्रिमिङ म्याक्स अन एपमार्फत गरिने आयोजकले जनाएको छ ।


















