२१ हजारको ल्युब आयल किन्दा लालबाबु बने १० लाखको बम्पर पुरस्कार विजेता

काठमाडौं । पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म भएको कारोबारमध्ये कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा सांसद गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा बम्पर उपहार विजेता घोषणा गरेका हुन्।

विजेता कानुलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भूसालले फोनमार्फत बधाई दिँदै पुरस्कार लिन नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

विभागका अनुसार असोज १ देखि १५ गतेसम्म ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।

त्यसमध्ये नगद कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार थिए। अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहारका लागि योग्य भएका थिए।

यसै अवधिमा दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताको कुपनसमेत विभागले सार्वजनिक गरेको छ।