केपि कुमार जलन/
बलेवा सेवा समाज जापानको आयोजनामा नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४६ को अवसरमा शुभकामना आदानप्रदान, सम्मान तथा दशैँ–तिहार विशेष सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
जापानको टोकियोस्थित कामाताको चिनो भान्छा घरमा आयोजित उक्त कार्यक्रममा बागलुङको गल्कोटमा जन्मिएकी, बलेवाकी बुहारी तथा चर्चित लोकदोहोरी गायिका सीता परियारसँग भेटघाट, सम्मान तथा सांगीतिक प्रस्तुतिसहित नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गरिएको थियो।
प्रवासमा रहेर पनि नेपाली चाडपर्व, मौलिक संस्कृति र आपसी सद्भावलाई जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बलेवा सेवा समाज जापानका पदाधिकारी, संस्थापक, संरक्षक, सल्लाहकार, कार्यसमिति सदस्य तथा जापानमा रहेका नेपाली दाजुभाइ र दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेकी गायिका सीता परियारले आफ्ना लोकप्रिय लोकदोहोरी गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन्। उनको सांगीतिक प्रस्तुतिले कार्यक्रममा थप उत्साह र उमङ्ग थपेको थियो। त्यसैगरी सोनाली परियार र दिया पाठककी नानीको आकर्षक नृत्यले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
कार्यक्रमको अन्त्यतिर समाजका महासचिव रोशन चापागाईँ र अध्यक्ष सुरेन्द्र पौडेल (प्रेम) ले गायिका सीता परियारसँग दोहोरी गाएर सहभागीहरूलाई थप उत्साहित बनाएका थिए। सांगीतिक प्रस्तुति, नृत्य र आत्मीय भेटघाटले कार्यक्रमलाई स्मरणीय बनाएको आयोजकले जनाएको छ।
कार्यक्रममा समाजका कोषाध्यक्ष दीपकराज पौडेलले स्वागत मन्तव्य राखेका थिए। शुभकामना मन्तव्यका क्रममा संस्थाका संस्थापक तथा पूर्वअध्यक्ष एवं संरक्षक महेन्द्र पिसी, संस्थापक संरक्षक राजु केसी, निवर्तमान अध्यक्ष एवं संरक्षक महेन्द्र ढकाल तथा अध्यक्ष सुरेन्द्र पौडेल (प्रेम) ले चाडपर्वको शुभकामना व्यक्त गर्दै प्रवासमा नेपाली एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचान जोगाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन महासचिव रोशन चापागाईँले गरेका थिए।
कार्यक्रम सफल बनाउन संस्थाका संस्थापक तथा सल्लाहकार राज पाठक र दीप पाठक, सचिव राजेश रिजाल, कोषाध्यक्ष दीपकराज पौडेल, युवा संयोजक नारायण पाठक, चिनो भान्छा घरका सञ्चालक, सम्पूर्ण कार्यसमिति तथा उपस्थित सहभागीहरूले योगदान दिएका थिए। आयोजकले कार्यक्रमलाई सफल, सभ्य र स्मरणीय बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
यस अवसरमा आफ्नो कला र प्रस्तुतिमार्फत नेपाली लोकदोहोरी संगीतको महत्त्व उजागर गरेकी गायिका सीता परियारप्रति विशेष सम्मान व्यक्त गर्दै आयोजकले उनको सांगीतिक यात्राको सफलताको कामना गरेको छ।
शोकको घडीमा सादगीपूर्ण चाडपर्व मनाउन आग्रह
कार्यक्रममार्फत आयोजकले देशमा दुःख र शोकको अवस्था रहेकाले यस वर्षका चाडपर्व तडकभडकभन्दा सादगीपूर्ण रूपमा मनाउनसमेत आग्रह गरेको छ। दुःखमा परेका नेपालीप्रति संवेदनशील रहँदै आफ्नो मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नुपर्नेमा समाजले जोड दिएको छ।
चाडपर्व केवल उत्सव र मनोरञ्जनका अवसर मात्र नभई आपसी सद्भाव, भाइचारा, आत्मीयता र सामाजिक सम्बन्धलाई बलियो बनाउने माध्यमसमेत भएको उल्लेख गर्दै समाजले प्रवासमा नेपाली पहिचान जोगाउन सबैलाई एकताबद्ध हुन आह्वान गरेको छ।
अन्त्यमा बलेवा सेवा समाज जापानले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैँ, तिहार, छठ पर्व तथा नेपाल संवत् ११४६ को शुभकामना व्यक्त गर्दै माता दुर्गा भवानीले सबैको रक्षा गरून्, हरेक परिवारमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्य छाओस् तथा देशमा शान्ति र स्थिरता कायम होस् भन्ने कामना गरेको छ।
“जय बलेवा! जय मातृभूमि!” भन्ने सन्देशसहित समाजले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक एकता र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।




















