फागुन १३ः नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गर्नुभएको छ ।
आज शुक्रवार नेकपा (एस) सम्बद्ध जनसङ्गठनद्वारा आयोजित अमेरिकी सहयोग एमसीसीविरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरूले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आज पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताउनुभएको थियो । नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको प्रतिवेदनहरू लिएर आउन पनि चुनौती दिनुभयो ।
उहाँले एमसीसीलाई पत्र लेख्ने कुरा डा। बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग रहेको बताउनुभयो । नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्यो म पनि गल्ती गर्छु भन्ने ढङ्गले राष्ट्रघाती कदमहरू चालिएको आरोप लगाउनुभयो ।
नेता खनालले भन्नुभयो, ‘एमसीसी सम्झौता झलनाथ खनाल प्रधानमन्त्री हुँदा सुरु भएको भनेर केहीले प्रचारप्रसार गरिरहेका छन् । यो सय प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो । म प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्रीको कार्यालयबाट कुनै न कुनै चिठी लेखेको छु, न कुनै अनुरोध गरेको छु । एमसीसी सम्झौता गर्ने कुरामा एउटा कुरा पनि अघि बढाएका छैनौ ।









