एमसीसी प्रस्तावमाथि संसदमा छलफल सुरु हुन थाल्यो

फागुन १५ः प्रतिनिधि सभामा अमेरिकी सहायता परियोजना एमसीसीमाथिको छलफल सुरु भएको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनेयम च्यालेञ्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो ।

अहिले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले नाराबाजी गरे पनि एमसीसीमाथिको छलफल सुरु भएको हो । एमालेले आफ्ना माग पूरा नभएसम्म बैठक चल्न नदिने अडान राख्दै आएको छ ।

आजको बैठकबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने तयारी छ । एमसीसी अनुमोदनका लागि सत्तारुढ गठबन्धनले व्याख्यात्मक घोषणा पारित गर्ने सहमति गरेका छन् ।

मन्त्रिपरिषद्को बैठकले घोषणा पारित गरेपछि संसद्ले राष्ट्रिय महत्त्वको प्रस्तावका रूपमा पारित गर्नेछ । घोषणामा एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि रहने प्रष्ट उल्लेख गरिएको छ ।