फागुन २७ः पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढङ्गबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ ।
आज शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरूपी बाच्छा पनि पाएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘संविधानको मजाक उडाइएको छ । जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एक जना न्यायाधीशले अमेरिकाबाट इमेल लेख्छन्– केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधानबाहिर गएर फैसला लेख्नुपरेको हो ।
ती न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले? एक जनाले गोरु ब्याउँदैन भन्थे, नेपालको संविधानमा ब्यायो । उहिले भनेका थिए २०५२ सालमा । अहिले गोरु ब्यायो मात्रै होइन, पाँच वटा बाच्छा पायो । उनले पाच गठबन्धनलाई लक्षित गर्दै भने गठबन्धनरूपी बाच्छा ।’
अध्यक्ष ओलीले अहिले नेपालका राजनीतिक शक्तिहरू दुई धारमा बाँडिएको बताउनुभयो । उहाँले राजनीतिक शक्तिहरू एउटा लोकतन्त्रको पक्षमा र अर्को जालीझेली षड्यन्त्रमा लागिपरेको बताउनुभयो ।
अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त भइरहेको पनि बताउनुभयो । उहाँले अहिले भइरहेका जालझेललाई आउँदो चुनावबाट ध्वस्त बनाइने पनि दाबी गर्नुभयो । अध्यक्ष ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएका बेला जङ्गे बनेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अहिले बुङ्गे भएको टिप्पणी गर्नुभयो ।
















