फागुन ३०ः वीरगञ्ज महानगर पालिकाका मेयर विजयकुमार सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण त्यो पार्टी रोजेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘नयाँ पार्टी रोज्ने बेलामा मसँग दुई वटा विकल्प थिए । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि नै भिड छ । त्यहाँ धेरै स्कोप नभएको हुनाले मैले एमाले रोजेँ ।एमालेका अध्यक्ष केपी ओलीजीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहनाबाट म प्रेरित भएँ ।
अब म एमालेको मेयर कहल्याउँछु र आउने दिनमा पनि एमालेबाट नै राजनीतिक यात्रालाई अगाडि बढाउँछु ।’ यस्तै मेयर सरावगीले जनता समाजवादी पार्टी छोडेर नेकपा एमालेमा जाँदा पद पाउनका लागि कुनै सर्त नगरेको बताउनुभएको छ । पार्टीले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ, त्यही जिम्मेवारी लिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले एमाले प्रवेश गर्दा निःशर्त गएको छु । अब पार्टीले मूल्याङ्कन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, त्यहीअनुसार हुन्छ । उहाँहरूले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसका लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन । पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ ।
पार्टीको आदेशअनुसार, पार्टीको टिकट अनुसार म अगाडि बढ्छु ।’ मेयर सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताउनुभएको छ । मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भए पनि पार्टीभित्र दुर्व्यहार हुने गरेकाले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको बताउनुभयो ।


















