चैत्र १० गते : डोटी जिल्ला सदरमुकाम सिलगढीमा एक दिने असल अभिभावकत्व अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बाल अधिकार संरक्षण तथा बाल विवाह अन्त्य गर्ने उदेश्यले आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा वडा नं.५ का ३९ जना महिला अभिभावकहरु सहभागी भएका थिए ।
सामाजिक विकास कार्यालय डोटीको आयोजनामा सिलगढीस्थित नेपाल परिवार नियोजनन संघको सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रममा आफ्ना बालबालिकाहरुलाई सक्षम बनाउन अभिभावकले खेल्नुपर्ने भुमिका बारेमा ब्यापक छलफल भएको थियो ।
साथै बालबालिकाहरुका लागि बनेको कानूनी व्यवस्था र मापदण्डहरुका बारेमा समेत छलफल भएको श्रोतको जानकारि छ ।
श्रोतको अनुसार गत मंगलबार भएको कार्यक्रममा लैंगिक हिंसा र दुव्र्यवहारको अन्त्य घरबाटै हुनुपर्ने र बालबालिकाको गुणस्तरीय शिक्षा,स्वास्थ्य र भविश्यका लागि अभिभावकको महत्वपूर्ण भुमिका रहने हुँदा अभिमुखिकरण कार्यक्रम अभियानको रुपमा संचालन गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष मदन भण्डारी,वडा सदस्यहरु शारदा भट्ट,रोमी गहतराज,सामाजिक विकास कार्यालय डोटीका निमित्त प्रमुख कृष्ण बोहरा सहभागी थिए ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल हुने उदेश्यले २०७६ सालमा राजपुरमा स्थापना भएको हो ।


















