बैशाख ३ : रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज (शनिबार) ५२ दिन पूरा भएको छ । एक करोड १० लाख भन्दा बढी जनता विस्थापित भएका छन । साथै दशौं हजार मानिसको मृत्यु समेत भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेबु्रअरी २४ मा युक्रेनविरुद्ध ‘विशेष सैन्य कारबाही’को घोषणा गरेपछि सुरु भएको आक्रमण शनिबार ५२ दिन पूरा भएको छ । सो अविधिमा करिब ४ करोड ४० लाख जनसंख्या रहेको युक्रेनमा एक करोड १० लाख भन्दा बढी जनता विस्थापित भएका छन् । दशौं हजार सर्वसाधारणको ज्यान गएको छ भने हजारौं सर्वसाधारण युद्धग्रस्त क्षेत्रमा फसेका छन् ।
युक्रेनको राजधानीसहितका मुख्य शहरहरूमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । युक्रेनको सेनाले कम्तीमा १९ हजार ६ सय रुसी सैनिकको ज्यान गएको बताएका छन् । दुवै पक्षका सयौं लडाकु विमान, हेलिकप्टर, ट्यांक, बख्तरबन्द गाडी ध्वस्त भएका छन् । रुसले ब्ल्याक सीको सोभियतकालीन युद्धपोत गुमाएको छ । रुसको लागि महत्वपूर्ण रहेको ‘मोस्कभा’ नामक युद्धपोतमा आफूले मिसाइल प्रहार गरेको युक्रेनको दावी छ । आफ्नो युद्धपोत डुबेपछि त्यसको बदला लिन मस्कोले युक्रेनमाथि आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ ।
आज (शनिबार) बिहानै किभमा शक्तिशाली विस्फोटन सुनिएको रोयटर्सले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको ५२ दिनको प्रतिरक्षालाई उपलब्धिको रुपमा हेरिएको बताएका छन् ।
उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युद्ध सुरु भएयता गत मंगलबार सार्वजनिक रूपमा टिप्पणी गर्दै युक्रेन युद्धमा रुसले आफ्नो लक्ष्य हासिल गर्ने दावी समेत गरेका छन् ।


















