एक घर एक महिला उद्यमी बनाउन पहल गर्छु : जानकी प्रधान, उपमेयरका उम्मेदवार, ललितपुर

बैशाख २१ :  ललितपुर महानगरपाकिाको नेपाल सुशाशन पार्टीबाट उपमेयर पदमा उम्मेदवार दिएकी जानकी प्रधान एक घर एक महिला उद्यमी हुनु पर्ने कुरामा जोड दिन्छिन् । महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा अब्बल बनाउन उद्यमशिलतालाई प्राथमिकता दिनुपर्ने कुरामा उपमेयर पदका उम्मेदवार प्रधानको जोड छ ।

आफुले ठूला–ठूला सपना बाड्ने भन्दा पनि महानगरबासीमा खड्किएका आवश्यकताहरु पूरा गर्न विशेष भूमिका खेल्ने प्रधानको संकल्प छ । महिलाहरुलाई उद्यमशिलतामा आकर्षित गर्न र अघि बढाउन विमा तथा सुरक्षाको कुरालाई पनि आफुले प्राथमिकतामा राख्ने उनले बताइन् ।

महानगरबासीले आफुलाई निर्वाचित गराएको खण्डमा परिवर्तनमुखी काम गरेर देखाउने उपमेयरकी उम्मेदवार प्रधान बताउछिन् । अहिलेको मुख्य आवश्यकता शुशाशन रहेको भन्दै जनप्रतिनिधिले काम नगरेको खण्डमा जनताले कठघरामा उभ्याउने वातावरण बन्नुपर्ने उनको तर्क छ ।

यस्तै ललितपुरमा नमूना कार्यहरु गर्न आफु उत्साहित रहेको प्रधान बताउछिन् । विज्ञहरुको साथ लिएर काम गर्दा सफलता पाइने भन्दै आफुले कुरा मात्रै नभएर काम गरेर देखाउने दृढता व्यक्त गर्छिन् । तपाईका मुख्य एजेण्डाहरु के हुन् भन्ने प्रश्नमा उनले महिला बालबालिका तथा युवाका लागि नै विशेष रुपमा काम गर्ने अठोट व्यक्त गरिन् । यसका अलावा स्थानीय रैथाने खानाहरुलाई ब्राण्डिङ्ग गर्ने प्रधानको लक्ष्य छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानीको समस्या समाधान गर्न पनि आफ्नो भूमिका हुने प्रधान बताउछिन् । महानगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै आफ्नो अनुभवका आधारमा व्यवस्थापनमा उल्लेखनीय काम गर्न सकिने बताइन् । ललितपुर कला तथा सस्कृतिमा धनी रहेको भन्दै पुरातात्विक वस्तुहरुको खोज अनुसन्धान गरि संरक्षणमा जोड दिने उनको भनाई छ ।