जेष्ठ २१ : नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाटसहित कुल १७७.७ मेगावाट बिजुली भारत निर्यात गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालले गत बुधबार रातिबाट त्रिशुली र देवीघाट जलविद्युत आयोजनाको करिब ३९ मेगावाट बिजुली भारतमा बेच्न थालेको थियो ।
प्राधिकरणका अनुसार शनिबार राति १२ बजेबाट कालीगण्डकीको बिजुली पनि भारत जाने भएको छ । नेपालले इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्नका लागि गत वर्ष कात्तिकमा अनुमति पाएको थियो ।
गत वर्ष त्रिशुली र देवीघाट जलविद्युत आयोजनाको मात्रै बिजुली भारतले किनेकोमा अहिले मर्स्याङदी, मध्यमर्स्याङदी, कालीगण्डकी र लिखुसमेत गरी कुल ३६४ मेगावाट बिजुली खरिद गर्ने सहमति दिएको पनि प्राधिकरणले जनाएको छ ।
नेपालले बिजुली बेच्न प्रस्ताव गरेका अरु तीन आयोजना माथिल्लो तामाकोसी, माथिल्लो भोटेकोसी र चमेलियाको बिजुली किन्नका लागि भने भारतले हालसम्म स्वीकृति दिएको छैन ।











