नेपालमा मनसुन प्रवेशको सुरुवात , कस्तो रहने छ आगामी मौसम

जेठ २२ः नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भने भइरहेको छ।

अबको दुईचार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन सुरु हुनेछ।

अहिले प्रि मनसुन र मनसुनको सुरुआती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुईचार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ। उनले भने

प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताए। नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ।

देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्दछ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व(पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ। आज काठमाडौँको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।