जेठ ३०ः प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले जुन सरकारको समयमा पनि अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने गरेकाले यस्तो विषयमा आएको सार्वजनिक महत्वको प्रस्तावमा सबै दल एक ठाउँमा उभिनुपर्ने बताए। गौतमले किसानले भोगेको समस्या बुझिदिन सरकारसँग आग्रहसमेत गरे।
अर्का सदस्य पार्वतीकुमारी विशङ्खेले किसान लक्षित प्रस्ताव, संविधानमा नागरिकको खाद्य सुरक्षाको अधिकारको व्यवस्था गरिए पनि कृषकमैत्री कार्यक्रम सरकारले ल्याउन नसकेको बताइन्।
सदस्य लक्ष्मीकुमारी चौधरी कृषि प्रधान देशमा किसानले मल, बीउ, बिजन प्राप्त गर्न नसक्नु उनीहरुको अपमान भएको बताउँदै सरकारले बाँझो जमिन राख्न नपाइने नियम बनाएको भए पनि खेती गर्न मलको अभाव हुनु द्वन्द्वात्मक विषय भएको बताइन्।
अर्का सदस्य मोहनकुमार पाण्डे भन्सार शुल्क शून्य बनाएर पनि जनताले आफै मल आयात गर्न दिनुपर्ने विचार व्यक्त गर्दै उनीहरुलाई मल उपलब्ध गराउन हरसम्भव उपाय अवलम्बन गर्नुपर्ने बताए । उनले विगतमा मल कारखाना स्थापना गर्न, मल आयात गर्न पूर्व कृषिमन्त्रीले किन नगरेको अहिले बताउनुपर्ने विचार व्यक्त गरे।









