प्रधानमन्त्रीको अमेरिका भ्रमण विषयमा संसद र देशलाई थाहा हुनुपर्छ : अध्यक्ष नेपाल

जेष्ठ ३०ः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारे संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन्।

भ्रमणमा देशलाई उचित हुनेभन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने अध्यक्ष नेपालको भनाई छ साथै नेपालले परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने पनि बताए।

उनले पहिलोपटक नेपालमा विदेशी सेना रहेको सुनेको पनि बताए। अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे।​

समितिमा धेरै कुराहरु उठेका छन्। त्यसले आशंकित बनाएको छ। विदेशी सेना नेपालमा छन्। मैले भर्खरै पहिलो चोटी सुनेँ। त्यो हो भने गम्भीर कुरा हो। कहाँ छन्। कुन कुन देशका छन्। कुन क्याम्पमा राखिएको छ। त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ।

प्रधानमन्त्री अमेरिका भ्रमणको कुराहरु आएका छन्। भ्रमणका विषयमा संसद, समिति र देशले जानकारी पाउनुपर्छ। भ्रमणमा कुनैपनि अन उचित कामहरु हुनुहुँदैन।