जेठ ३० : गण्डकी प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज सोमवार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २६ गतेदेखि नीति तथा कार्यक्रममामाथि छलफल सुरु भएको हो । छलफलका क्रममा उठेका प्रश्नमाथि सोमवार मुख्यमन्त्री पोखरेलले जवाफ दिएलगत्तै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको थियो ।
संसदमा जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले प्रदेशका सोच तथा दृष्टिकोणहरू मूलतः नेपालको संविधान, पन्ध्रौँ आवधिक योजना, प्रदेशको प्रथम पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य र प्रदेशवासीको विकास चाहना तथा राजनीतिक दलहरूको विकास प्रतिबद्धता र प्रदेश सभाको मार्गदर्शनअनुसार तय भएको बताए । कोभिड महामारीले थला परेको आर्थिक र सामाजिक जीवनलाई सहज बनाउनेतर्फ नीति तथा कार्यक्रमले जोड दिएको उनको भनाइ थियो ।









