जेठ ३१ : अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) माथि लगाउँदै आएको निलम्बन पूर्णरूपमा फुकुवा गरेको छ । क्यानले आज विज्ञप्ति निकाल्दै आईसीसीबाट कन्ट्रोल फन्डिङ पूर्णरूपमा फुकुवा भएको जनाएको छ । योसँगै अब नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त देशसरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने छ ।
२०७६ असोज ११ र १२ गतेको विशेष साधारण सभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको थियो । तर कन्ट्रोल फन्डिङ भने फुकुवा भएको थिएन । ‘नयाँ कमिटीले सबै मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्यसम्पादन गरेको मूल्याङ्कनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्णरूपमा हटाएको हो’, क्यानले विज्ञप्तिमा जनाएको छ ।



















