नेपाली समुदायको सम्मानमा जर्सीसिटीमा नेपालको झण्डा फहराइयो

नेपाली समुदायको सम्मानमा ग्रोभ स्ट्रीट जर्सी सिटीमा रहेको काउन्सिल च्याम्बर्सको सिटी हलमा नेपालको झण्डा फहराइएको छ । जर्सी सिटी महानगरको मुख्य प्रशासनिक सरकारी भवनको सो हलमा अमेरिकाको झण्डासँगै जर्सी सिटीका मेयर स्टेभन फुलपले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराएका हुन् ।

फाेटाे : जर्सी सिटी महानगरको मुख्य प्रशासनिक सरकारी भवनको सो हलमा अमेरिकाको झण्डासँगै जर्सी सिटीका मेयर स्टेभन फुलपले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराउँदै ।

नेपालको राष्ट्रगान बजाउनुका साथै सिटी हल भवनको माथिल्लो तल्लामा सोमवार ‘नेपालको झण्डा फहराएको दिवस’ को दिन नेपाली झण्डा फहराईएको युएसनेपाल अनलाईनका सम्पादक प्रदीप परियार थापाले जानकारी दिनुभयो । जर्सी सिटीमा रोजगार एवं तालिम बोर्डकी सदस्य डा. बिष्णुमाया परियारको विशेष पहलमा नेपालको झण्डा फहराइएको हो । कार्यक्रममा मेयर फुलपकासाथै काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, निवर्तमान काउन्सिल प्रेसिडेंट एवं काउन्सिलम्यान एट लार्ज रोलाण्डो लाभारो, जर्सी सिटी र जर्सी सिटीको रोजगारी र तालिमबोर्ड सदस्य डा विष्णुमाया परियारका साथै नेपाली समुदायका व्यक्तित्वहरूको उपस्थीति रहको थियो ।
जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकी शहर हो । यसअगाडि सन् २०१७ को जुन ३० तारिखमा जर्सी सिटी सहर आफ्नो सिटी हल भवनमा नेपालको झण्डा फहराएको थियो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोभेम्बर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो । जर्सी सिटीमा डा परियारको पहलमा झण्डा फहराइएको थियो ।