संकटमा सर्वोच्चका प्रधानन्याधीश एक न्यायाधीश खुल्न बाँकी अरुले छोडे साथ

काठमाण्डौं कार्तिक १०

सर्वोच्च अदालतका १९ न्यायाधीशमध्ये १८ न्यायाधीशले राजीनामा दिनुपर्ने पक्षमा उभिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संकटमा परेका हुन ।

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा सात,आठ जना न्यायाधीशहरूले आइतबार छलफल सुरू गरेका थिए। त्यसमा सर्वोच्चका अरू न्यायाधीश पनि मिसिँदै गएका छन।

उसोत आइतबार दिउँसो सर्वोच्चका १४ न्यायाधीश एक ठाउँ बसेर छलफल गरेका थिए।

सामूहिक छलफलपछि उनीहरूले सोमबारका लागि प्रधानन्यायाधीशले बोलाएको पूर्ण इजलास बहिस्कार गर्ने निर्णय गरेका थिए।

पूर्ण इजलास बहिस्कार गर्ने न्यायाधीशमा दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी थिए।

सर्वोच्चमा प्रधानन्यायाधीश राणासहित २० जना न्यायाधीश छन्। आइतबार अरू पाँच न्यायाधीश बिदामा थिए।

यसरी प्रधानन्यायाधीशविरूद्ध सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी मात्र खुल्न बाँकी छ। बिदामा रहेका उनी राणाको पक्ष वा विपक्षमा उभिएका छैनन्।

केपी ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि राणाले गठन गरेको संवैधानिक इजलासमा आफूसँगै ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखेका थिए।

१५ न्यायाधीशका तर्फबाट न्यायाधीश आनन्दमोहन भट्टराईले प्रधानन्यायाधीश राणाले कार्यपालिकासँग सत्ताको राजनीतिक सौदाबाजी गरेको तथा उनमा न्यायिक बिचलन देखिएकाले आफूहरूले राणाको नेतृत्व स्वीकार गर्न नसक्ने बताएका थिए।

न्यायाधीशहरूले उनलाई मार्ग प्रशस्त गर्न सुझाए पनि राणाले राजीनामा नगर्ने अडान लिएका थिए।