काठमाडौं, कार्तिक १५
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकर नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीबिच पहिलो पटक औपचारीक भेट भएको छ ।
थप ३ वर्षका लागि नेपाली टिमको प्रशिक्षकका रूपमा नेपाल फर्किएका अल्मुताईरीको स्वागतमा खेलकुद मन्त्रालयले आईतबार विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
सिंहदरबारस्थित मन्त्रालयमै आयोजना गरीएको उक्त कार्यक्रममा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अल्मुताईरीलाई दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गर्नुभएको हो । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह समेत गर्नुभएको छ ।
मन्त्री अथकले अल्मुताईरीको आगमनपछि नेपाली खेलकुद क्षेत्रमा तरङ्ग उत्पन्न भएको र यसले विशेष गरी नेपाली फुटबलमा बेग्लै आशा जागेको बताउँदै कर्मनिष्ठ भएर लाग्न अनुरोध गरेका गर्नुभएको छ । ।
“तपाईले नेपाली फुटबलमा मात्र नभई सिङ्गो खेल क्षेत्रलाई तरङ्गीत बनाउनुभएको छ”, मन्त्री अथकले भन्नुभयो, “नेपाली फुटबल खेलाडीलाई गोर्खाली शैलीमा खेल्न प्रोत्साहित गरेर फुटबल विकासमा नयाँ आश जगाउनुभएको छ । सरकार तपाईँको साथमा छ, ढुक्क भएर काम गर्नुहोस ।
”विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको भन्दै मन्त्री अथकले खुसी ब्यक्त गर्नुभयो ।
स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीहरूको मायाँले आफू पुन नेपाल फर्किएको बताउनुभयो । आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै माया दिएको बताउनुभयो ।
नेपालको खेलका दौरान तथा आफू माल्दिभ्समा रहँदा समेत खेलकुद मन्त्रीले आफुलाई निरन्तर टेलिफोन गरेर हौसला प्रदान गरेको र नेपाल आएलगत्तै मन्त्रालयमा बोलाएर स्वागत गरेकोमा अल्मुताईरीले मन्त्री अथक र मन्त्रालय प्रति आभार ब्यक्त गर्नुभयो ।