काठमाडौं, कार्तिक १५
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन पनि २ चरणमा गर्नुपर्ने बताएको छ। आयोगले तीनवटै तहको निर्वाचन एकैपटक सम्भव नभएकोले तीन खण्डमा गर्नु पर्ने भएको आयोगले स्पष्ट गरेको छ।
२०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो। त्यतिबेला निर्वाचित पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सम्पन्न हुँदैछ। कार्यकाल समाप्त हुनु २ महिनाअघि नै स्थानीय तह निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने तर्क गरेको छ।
आयोगले त्यसका लागि कात्तिकभित्रै स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारसँग पटक पटक माग गरेको छ।
‘चैत ५ अघि निर्वाचन हुन निर्वाचन अवधि १ सय २० दिन हुने भएकाले ढिलोमा पनि मंसिर ५ भित्र निर्वाचनको मिति घोषणा भइसक्नुपर्छ,’ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहितको टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यस विषयमा ध्यानाकर्षण गरिसकेको छ।
आयोगले पहिलो चरणको निर्वाचन भएको कम्तीमा ४५ दिनभित्र दोस्रो चरणको निर्वाचन हुने गरी मिति तोक्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेको प्रवक्ता पौडेलले बताए। यस्तै, आयोगले संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै चरणमा सम्भव नभएको जानकारी पनि प्रधानमन्त्री देउवालाई गराइसकेको छ।
तीनै तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने आवाज उठिरहेका बेला आयोगले भने चरणबद्ध चुनावको प्रस्ताव गरेको हो।
। ‘प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ ले प्रतिनिधिसभा र प्रदेशसभासम्मको एकै चोटी हुन सक्ने भने पनि स्थानीय तहसमेतको निर्वाचन एकै चरणमा गर्ने कल्पना गरेको छैन,’ प्रवक्ता पौडेलले भने, ‘आयोगले यस विषयमा सोचसमेत बनाएको छैन।’
आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त पदमा उपनिर्वाचनको मिति तोक्न पनि सरकारसँग माग गरेको छ। आयोग प्रवक्ता पौडेलका अनुसार प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १८ जना सदस्यको पद रिक्त छ।
संसद्को माथिल्लो सदन राष्ट्रियसभामा एक तिहाइ १९ जना० सदस्यको पदावधि आगामी फागुन २० मा सकिँदैछ। आयोगले त्यसका लागि ३५ दिन अगावै निर्वाचनको मिति तोक्नुपर्ने कानुनी व्यवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गरिसकेको प्रवक्ता पौडेलले बताए।
निर्वाचन तयारीका लागि आयोगलाई करिब ९० दिनको तयारी चाहिन्छ।