काठमाडौं,कार्तिक १५
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसको आसन्न १४औं महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने जानकारि दोहोर्याएकी छिन् ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणाबाट पछि नहटेको र नहट्ने बताएकी हुन् ।
गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताएकी हुन् ।
कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार देखियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अन्य नेताहहरुको पनि सभापतिमा इच्छा देखाउनु अस्वभाविक नभएको उनको भनाइ थियो । कोइराला परिवार मात्र होइन अन्य धेरै नेताहरुले पनि सभापतिमा इच्छा देखाएको उनको भनाइ थियो ।
‘कोइराला परिवारबाट मात्रै होइन अरूले पनि इच्छा देखाउनुभएको छ । म महिला भएकाले सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु । तर कोइराला परिवारमा छलफल भइरहेको छ,’ उनले भनिन ।
केही समयअघि विराटनगरमा आएका डा.शेखर कोइरालाले पनि सभापतिमा उठ्ने बताएका थिए । महामन्त्रीसमेत रहेका डा.शशांक कोइरालाले पनि सभापति उठ्ने बताइरहेका छन् ।